कञ्चनपुर — पश्चिम नेपालका थारु समुदाय नयाँ वर्षका रूपमा मनाउने मुख्य चाड माघीको तयारीमा जुटेका छन् । थारु बस्तीमा उल्लासपूर्वक मनाइने माघीको रौनकले अहिले गाउाटोल छोपिसकेको छ । सांस्कृतिक गतिविधिसँगै माघीमा तयार पारिने परिकारका कारण पनि यो पर्व अन्य समुदायका लागि पनि विशेष बन्दै गएको छ ।
पश्चिम तराईका पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा माघी उल्लासका साथ मनाइन्छ । यी जिल्लामा बसोबास गर्ने थारु समुदायले भिन्न–भिन्न तरिकाले माघी मनाउने गरेका छन् । बर्दियामा माघीका लागि आफन्तको जमघट र घर छाडेकाहरू फर्किने क्रम सुरु भइसकेको छ । उनीहरू माघीमा अनिवार्य हुने जाँड (जाँर) तयार गर्न जुटेका छन् । माघीलाई माघ भनेर मनाउने बर्दियाका थारु समुदायमा पाहुना र परिवारका सदस्यले जाँड चाख्नु पर्ने परम्परा छ ।
लरुवा (जंगलको जडीबुटी) बाट बनेको औषधिलाई अनदीको चामलबाट पाकेको भातमा मिसाएर भाँडोमा छोपेर राख्ने गरिन्छ । त्यही भात केही दिनमा बास्नादार र अमिलो खान मिल्ने भएपछि माटोको घैंटोमा खनाइन्छ । उमालेर पकाएको उक्त रस भरिएको घैंटोलाई बाहिरबाट माटोले लिपिदिएपछि महिनौंसम्म पिउन मिल्ने जाँर बन्छ । यो माघको आवश्यक खानकीमा पर्ने बर्दिया बाँसगढी नगरपालिकास्थित नगरस्तरीय बडघर संस्थाका लेखनदास एकराज चौधरीले बताए । उनका अनुसार योबाहेक अनदीको रोटी, ढिकरी, आलु र सुंगुरको मासु उक्त दिन खाने गरिन्छ ।
माघीका लागि पुस २८ गते माछा मार्ने, २९ गते सुंगुर काट्ने र घरघरमा मासु राखिन्छ । सोही साँझ समुदायका सबै पुरुष बडघरको घरमा जम्मा हुन्छन् । मुडो बालेर दन्किएको आगो वरिपरि बसेर डम्फु बजाउँदै ढुमरु (ढामर) गाइन्छ । गाउँदागाउँदै बिहान ४ बजेपछि नाच्दै नजिकको जलाशयमा पुगेर स्नान गरेपछि सेतो टीका लगाई ठूलाबडासँग ढोग सलामी गर्छन् । घर फर्किएपछि घरका ठूला मान्छेसँग आशीर्वाद लिएर चामल, मासको दाल र नुन राखिएको ३ वटा ढकियाका सामग्री अन्य भाँडोमा खन्याएर दिदीबहिनीका लागि पोको बनाएर राखिदिन्छन् । त्यसपश्चात् माघ मनाउँदै खाना खाने चलन रहेको चौधरीले बताए । माघ १ गते पुरुषले मनाउँछन् भने २ गतेलाई जन्नीन्हक माघ अर्थात् महिलाले मनाउने माघ भनेर जानिन्छ । उक्त दिन पुरुषले घरको काम सम्हाल्ने, महिला आफन्तकहाँ जाने, खाने गर्छन् ।
माघ १ गते खानपिन गर्दै पुरुषले घरका लागि वार्षिक योजना बनाउँछन् । परिवारमा विवाह, अंशबण्डादेखि वर्षभि खेतीबाली लगाउनेलगायतका घरायसी काममा जिम्मेवारी बाँडफाँड गर्ने चलन रहेको लेखनदास चौधरी बताउँछन् । माघीकै दिन गाउँको भेलाले बडघर, चौकीदार (बाली रेखदेखकर्ता), लोहार (फलाम बनाउने मानिस), चिरकिया (गाउँको मन्दिरमा धुपबत्ती बाल्ने), गुरुवा (मुख्य पुजारी) तोकिन्छ । ‘गाउँमा के गर्न हुने, के नहुने भन्ने विषयमा समेत छलफल गरी निर्णय गर्ने चलन छ,’ उनले भने, ‘बडघरको छलफलले यस वर्ष बालविवाह, बहुविवाहविरुद्ध कदम उठाउने, छोरीको विवाह हुने घरमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुने, छोराको विवाहमा ५२ जना भन्दा बेसी मानिस नजाने, १२ बजेपछि बाजा बजाएर अन्यलाई समस्या हुनेगरी विवाह, पार्टी नगर्ने आदि निर्णय गर्ने योजना बनाएका छौं ।’
माघे संक्रान्तिलाई कपिलवस्तुका थारु समुदायले भने केही भिन्न किसिमले मनाउने गर्छन् । कपिलवस्तुको पूर्वी भागमा १ दिन मात्र मनाइने माघी पश्चिम क्षेत्रमा २ दिन र भित्री क्षेत्रमा ३ दिनसम्म मनाउने गरिएको थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद उमाशंकर थारुले बताए । उनका अनुसार जिल्लामा २९ गते नै बिहानै नुहाएर चामल र दाल छुने, टीका लगाएर खानेकुरा खान थालिन्छ । ‘घरमा चेलीबेटी बोलाएर खुवाउने परम्परा रहेको उनले बताए । परिवारका सदस्यले माइत आएकी चेलीसँग सुखदुःखका कुरा गरिन्छ,’ उनले भने, ‘हामीले ढिकरी, माछा, अनदीको रोटी आदि खान्छौं । पश्चिमी भेग र भित्री भेगमा जति दिन मनायो, त्यति दिनसम्म चेलीबेटीलाई त्यहीँ राख्ने र खुवाउने गरिन्छ ।’
माघी अर्थात् खिचडी पर्व भनेर मनाउने गरिएको रूपन्देहीको माघी मनाउने चलनमा केही फरक आएको थारु कल्याणकारिणी सभा रूपन्देहीकी सचिव सरिता चौधरी बताउँछिन् । उनले पहिले पहिले जिल्लाका हरेक गाउँमा मनरा (मादल) बजाएर गाउने, झर्रा र झुमरामा नाच्ने गरिए पनि अहिले विशेष महोत्सव चलेका स्थानमा बाहेक अन्यत्र ती नाच देख्न हराएको बताइन् । रूपन्देहीमा माघी आउनुभन्दा साताअघिदेखि नै छोरीचेलीलाई माइती बोलाएर खुवाउने चलन छ ।
घरका मानिसले १३ दिने दाजुभाइलाई समेत समेटेर खानपिन गर्ने गर्छन् । यहाँ भुजा र तिलको लड्डु, घोंगी, माछा, ढिकरीलगायत खाने चलन छ । ‘हामीले स्थानीय र प्रदेश सरकारको सहयोगमा महोत्सव सञ्चालन गर्ने, आफ्नो संस्कृति अन्य समुदायलाई समेत चिनाउने प्रयास हरेक वर्ष गर्छौं,’ उनले भनिन्, ‘संघीयताले यो सुविधा दिएको छ, जसले सकारात्मक सन्देश दिन्छ ।’ उनले आफूहरूले पकाएको परिकार चाख्न अन्य समुदायका मानिससमेत आउादा आफ्नो परम्परा, संस्कार चिनिएकामा खुसी लाग्ने जनाइन् । थारु परिकार स्वास्थ्यका लागि राम्रो र अर्गानिक हुने भएकाले अरु समुदायका मानिसको रोजाइमा पनि पर्दै गएको उनले बताइन् ।
दाङमा माघीको तयारी स्वरूप थारु समुदायले महिनादिनदेखि नै जंगल गएर दाउराको जोहो गर्ने, सालको पात ल्याएर टपरी खुट्ने, घरमै पेय पदार्थ बनाउने, नयाँ आलु खन्ने, सिन्की बनाएर राख्नेलगायतका काम गर्छन् । ५ दिनअघिदेखि साँझमा आगो छेउ बसेर झुमरु गाउने गरिन्छ । पुसको अन्तिम दिन सुँगुर काटेर मासु तयार पार्छन् । सोही दिन सखरखण्ड, तरुल आदि उसिनेर राख्छन् । १ गते बिहानै पुरुष जति जलाशयमा गएर नुहाउँछन् । महिलाले घरमा खानकी तयार पार्ने गरेको मुक्त कमलहरी विकास मञ्च दाङकी व्यवस्थापक मंगला थारुले बताइन् । उनले माघ १ गते खानकी खानुअघि दाजुभाइले दिदीबहिनीका लागि भाग छुट्याएर चामल, दाल, नुन पोको बनाइदिन्छन् । दिनभरि आगो छेवैमा बसेर खानपिन गर्दै रमाइलो गरेपछि अर्को दिन चेलीबेटीको घरघरै पुगेर कोसेली छोड्ने चलन रहेको उनले बताइन् । ‘हाम्रोतिर चेलीबेटी आउने नभई घरमै उनीहरूलाई तयार बनाएको सामग्री पुर्याइदिन्छौं,’ उनले भनिन्, ‘माघ ५ गतेसम्म घरघरै भैलो खेल्न जाने, नाच्ने, पैसा पाउने गरिन्छ । त्यो पैसाले सबै मिलेर वनभोज जाने गरेका छौं ।’
बुढापाकाले योजना बनाउने, फरक दिनमा फरक गाउँमा गएर रमाइलो गर्ने गरे पनि अहिले माघीलाई केही परिमार्जित अर्थात् छोटकरीमा परिकार खाने र महोत्सवमा सीमित गरिँदै गएको उनको भनाइ छ । ‘पहिलेकै तरिका अपनाउन नसके पनि संस्कारलाई सन्ततिले समेत जोगाइराखून् भन्ने हिसाबले मनाउनुपर्छ,’ उनले भनिन्, ‘अन्य समुदायले हाम्रा परिकार र नाच मन पराइरहेका बेला हामीले यो जोगाउन हाम्रा सानालाई सिकाउँदै लैजानुपर्ने देखिन्छ ।’ युवा पुस्ता पढाइ र कामका सिलसिलामा बाहिर जाने भएकाले उनीहरूले सिक्न नपाउनुले पनि भविष्यमा थारु संस्कृति झल्काउने माघी ओझेलमा पर्छ कि भन्ने चिन्ता लागेको उनले बताइन् ।
थारु संस्कति अनुसार कुनै पनि पूजापाठ वा पर्वमा मासु खाने चलन पहिले नरहेको पश्चिम नवलपरासी थारु कल्याणकारिणी सभाका अध्यक्ष मुन्द्रिका चौधरी बताउँछन् । उनले माघीमा घ्यु, भात र भेली खाने चलन भएको बताए । ‘परापूर्वकालदेखि नै खिचडी पकाउनेले बेसार, दाल, चामल, अदुवा मिसाएर पकाउँथे, पाकेको खिचडीमा भेली राखेर खान्थे,’ उनले भने, ‘अहिले मासु काट्ने खाने गर्छन्, वास्तवमा थारु पर्व सस्तो पर्व हो भन्ने प्रचलन थियो, अहिले आधुनिक हुँदै गएको छ ।’ परासीमा माघीको अवसरमा चेलीबेटीलाई नयाँ लुगा किनिदिने, खाना खुवाउने र नयाँ वर्षको रूपमा माघीलाई लिँदै घरको जग पूजा, वर्षभरिका लागि मुखिया चुन्ने चलनसमेत रहेको छ ।
उता बाँकेको नेपालगन्जमा माघीलाई सामान्य हिसाबले मनाउने गरिएको थारु कल्याणकारिणी सभाकी उपमहानगर अध्यक्ष बास्मती थारुले बताइन् । उनले आफूहरू बजार क्षेत्रमा बस्ने, कामकाजमा व्यस्त रहने भएकाले यसलाई सामान्य किसिमले परिकार खाने, चेलीबेटी बोलाउनेमै सीमित गर्न बाध्य भएको जनाइन् । ‘गाउँघरमा ३ दिनसम्म पनि मनाइन्छ,’ उनले भनिन्, ‘हामीले आफूले गर्न नसके पनि जोगाउनुपर्छ भन्ने उद्देश्यले कार्यक्रम गर्छौं, नाचगान देखाउँछौं, परिकार बनाउँछौं ।’ माघीभन्दा अघि नै गाउँगाउँमा युवालाई जम्मा गरेर मादल बजाउन, नाच्न, ढकिया बुन्न र थारुले लगाउने पहिरनसम्बन्धी जानकारी दिएर यसको जगेर्नामा लागिरहेको उनको भनाइ छ । माघीको रौनक बढाउन स्थानीय तहसँग समन्वय गर्ने, थारु संघसंस्था जागरुक हुने गरेको उनले बताइन् । लुम्बिनी प्रदेश सरकारले यसअघिका माघीमा २ दिन सार्वजनिक बिदा दिँदै आएको थियो । माघीलाई विशेष पर्व मान्ने थारु समुदायको बाहुल्य भएको यस प्रदेशमा माघीलाई मौलिक पर्वका रूपमा लिने गरिन्छ ।
उता सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारु समुदाय पनि माघीको तयारीमा व्यस्त छन् । कञ्चनपुर भीमदत्त नगरपालिका–१ राजीपुरकी लक्ष्मी डगौंरालाई जंगलबाट सालका पात ल्याएर दुनाटपरी बनाउनेदेखि, घर लिपपोत गर्ने, तरुल र सखरखण्ड खोज्ने र पिठो चामल तयार पार्ने काममा उनी व्यस्त छिन् । थारु समुदायको प्रमुख चाड माघी नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढ्दै गएको हो ।
डगौंराले जाँड (चामलको रक्सी) पनि बनाइसकेकी छिन् । माघीका दिन खाने मासुका लागि सुंगुर खोज्ने र सुंगुरको मासु नखानेका लागि कुखुरा खोज्ने काम पनि गरिसकेको उनले बताइन् । ‘अब गंजी (सखरखण्ड) र तरुल खोज्ने काम बाँकी छ, अरु धेरै तयारी भइसक्यो,’ बिहीबार दिउँसो आँगनमा दुना गाँसिरहेकी डगौंराले भनिन्, ‘माघी नजिक आइसक्यो । गाउँमा चहलपहल बढेर रमाइलो भइरहेको छ ।’
थारु समुदायमा माघीका लागि बाहिर भएकाहरू पनि टाढाटाढाबाट घर फर्किन्छन् । वर्षभरिका योजना बनाउनेदेखि, भाइहरू छुट्टिने, गाउँको मेखिया (बडघर वा भलमन्सा) छान्ने सबै काम यही बेला हुन्छ । घरको मुली छान्ने काम पनि यही बेला हुन्छ । विगतका कमैया प्रथा कायम रहेका बेला नयाँ घर छान्ने (खोजनी भोजनी) को काम पनि माघीमै हुन्थ्यो । ‘माघीका दिन रमाइलो गर्ने मात्रै होइन, वर्षभरिका योजना समेत यही बेला बन्छन्,’ राजीपुरकी पुजा डगौंरा भन्छिन्, ‘घरको र गाउँको योजना अहिले नै बन्छन् ।’ उनका अनुसार माघीका दिन सुंगुरको मासु, कुखुराको मासु, ढिकरी, अनदी चामलको भात, अचार, साग, तरकारी, दाल सबैथोक पकाइन्छ । खानेकुरा सबै दुनाटपरीमै राखिन्छ ।
माघीका दिन गाउँभरिका मान्छे एक अर्काको घरमा गएर आशीर्वाद लिने गर्छन् । खाना खाएपछि सबै गाउँभरिका मान्छे भेला भएर आगो ताप्दै बडघर छान्ने र गाउँका योजनाहरू बनाउने काम गरिन्छ । बडघर छान्ने काम माघ पहिलो सातासम्मै चल्छ । कुनै गाउँमा माघीकै दिन छानिन्छ भने कुनै गाउँमा दोस्रो तेस्रो दिनसम्म पनि छानिन्छ । माघीका बेला मघौटा, छोकरा र हुर्दङ्वालगायतका नाच नाचिन्छ ।
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस