‘जुँगा काटेर मैदानमा आऊ प्रचण्ड!’
समाचार विष्लेशण/लिलाराज खतिवडा
कथित बहुदलीय जनवादका प्रणेता मदन भण्डारीले कुनै दिन टुँडिखेलमा राजा वीरेन्द्रलाई चुनौती दिँदै कुर्लिएका थिए, मसँग लड्ने भए श्रीपेच खोलेर आऊ, महाराज!
कम्मरमा अत्याधुनिक हतियार भिरेर हिँड्ने राजा वीरेन्द्रको नीयत निम्छरो भइदिएको भए, त्यतिबेला रत्नपार्कको ‘हङकङ मार्केट’मा खरिद गरिएको खासाबाट आयातीत एउटा सेतो ज्याकेट लगाएर सडकमा हिँड्ने मदन भण्डारीलाई दिनदहाडै छातिमा गोली ठोकिदिन सक्थे । तर त्यसो भएन । समयको कठोर बहावसँगै बरु राजा वीरेन्द्र नै सपरिवार सिद्धिए र कालान्तरमा तिनै मदन भण्डारीकी श्रीमती बिद्या पाण्डेले २ कार्यकाल नेपालको राष्ट्रपतिको जागिर समेत पड्काइन् !
दरवारले हत्या नगरे पनि मदन भण्डारीलाई उनका सहयात्री जीवराज आश्रीत सहित उनकै पार्टीभित्रबाटै षडयन्त्र गरेर मारियो र त्रिशूली नदीमा लास मिल्काइयो भनेर सोही पार्टीका नेताहरु बोले । त्यस्ता कैयौं समाचारहरु छापिए र रद्दीको टोकरीमा मिल्किए । मदन भण्डारीको अवशानपछि माधवकुमार नेपाल र खड्गप्रसाद ओलीहरुका च्याँखे दाऊ सुपरहिट हुन थाले । भण्डारीको शेषपछि सोही पार्टीभित्र जजसलाई सत्ताको चिठ्ठा पर्यो, आखिर उनीहरु माथि नै हत्याको आरोप जाने भयो । आश्चर्य त के छ भने, २ कार्यकाल राष्ट्रपति हुँदा पनि पार्टीका २ जना होनहार र शीर्ष नेताहरुको रहस्यमय मृत्युको फाइल नखुल्नुले मदनकी श्रीमती स्वयम् बिद्या पनि उक्त षड्यन्त्रमा मुछिन पुगिन् ।
आज आएर समीक्षा गर्दा मदन भण्डारीको अवशानको सबैभन्दा ठूलो र प्रत्यक्ष फाइदा चाहिँ बर्तमान प्रधानमन्त्री प्रचण्डले लिइरहेका छन् । कतिपय अवस्थामा तत्कालिन माओवादी दल वा प्रचण्ड-बाबुरामको मद्दत लिएर एमाले दलका शीर्ष नेताहरुले षड्यन्त्र रचिकन मदन र आश्रीतलाई शेष तुल्याएका हुन् भन्ने ठोकुवा गर्न आजकै दिन किन हच्किने ?
आखिर कैयौं निर्दोष जनता, राजा वीरेन्द्रको परिवार र नारायणहिटि दरवार नै सिध्याएर प्रचण्ड आफ्नो दलबलसहित आज तेस्रो पटक सत्ताको बागडोर सम्हालिरहेका छन् ।
तथापि आम जनता माझ उनी अलोकप्रीय छन् । सामाजिक सञ्जाल र सडकहरुमा उनले तथानाम गाली खाएका छन् । उनलाई मार्ने धम्कीहरु प्रसस्तै आएका (वा गएका?) छन् ।
पछिल्लो समय बालकुमारी र सर्लाहीमा दिनदहाडै युवाहरुको छातिमा गोली ठोकेर हत्या गरिएपछि त फेरि एकपटक उनको टाउकाको मोल तोकिएको छ ।
स्मरणीय के छ भने, जनयुद्धकालमा तत्कालिन सरकारले उनको टाउकाको मोल तोकेको थियो भने, अहिले जनताले त्यो काम गरेका छन् ।
तर पनि प्रचण्ड मिडियामा लज्जास्पद भाषण दिँदै हिँडिरहेका भेटिन्छन् । धेरै वटा एपिसोडहरुमा उनी विक्षिप्त नजर आउँछन् । उनको चेहराको कान्ति क्रमशः क्षय हुँदै गएको पनि स्पष्ट देख्न सकिन्छ । धेरैले उनको बर्तमान हालतलाई ‘हुट्टिट्याउँले अभर पर्दा बगरमा टाउको लुकाए जस्तो’ भनेर टिप्पणी गरेका छन् । चारैतिर उनको आलोचना भइरहेको छ । जनस्तरबाट व्यापक रुपमा उनको राजिनामा पनि
मागिएको छ । तर यसको जवाफमा प्रचण्डले झोक्किँदै मिडियालाई प्रश्न गरेका छन्, यस अघि मैले दुई पटक राजिनामा दिएको बिर्सिनु भयो ? यसपाली किन दिने मैले राजिनामा ?
तर के ती राजीनामाहरुमा किञ्चित मात्रै पनि नैतिकताको रसायन हाबि थियो त ? अहँ थिएन । राजिनामा नभएर ती गलहत्ती थिए ।
यसपाली ? यसपाली भने, प्रचण्डले तेस्रो पटक सत्ता चुमेर आफ्ना दुबै हातले ‘भालुको कनपट’ समाएका छन् । अब के होला? आफैँ अनुमान लगाउनुहोस् ।
आज सडक र सामाजिक सञ्जालबाट जनताले प्रचण्डलाई निकै तल झरेरै चुनौती दिइरहँदा उनकै बिरादरीका मदन भण्डारीले टुँडिखेलबाट राजा वीरेन्द्रलाई चुनौती दिइरहेको घटना यस लेखकलाई अकस्मात स्मरण हुन पुगेको हो ।
अझ जनताले अहिले भन्नुपर्ने त यसो पो थियो, जुँगा काटेर सडकमा आऊ प्रचण्ड, तिमीसँग एक्लै भिड्छु!
बडिगार्डबाहेक प्रचण्डको अर्को शक्ति भनेको त्यही जुँगा होइन र ? कि छ अर्थोक केही ? उनका वा अन्य मन्त्रीका बडिगार्डहरुको हैसियत पनि अब जनताले राम्रैसँग नापिसकेको हुनुपर्छ ।
तथापि एउटा कुरा भने यहाँ उल्लेख गर्नै पर्ने देखिन्छ, आखिर मदन भण्डारीहरु समेत डराउने त्यो श्रीपेचको खबर अहिले के छ ? कहाँ छ त्यो बहुमूल्य र अति शक्तिशाली जीनिश ?
नत्र किन भन्थे, आजभन्दा ३३ वर्षअघि टुँडिखेलबाट मदन भण्डारीले – महाराज, श्रीपेच खोलेर मसँग भिड्न आऊ!
किन, श्रीपेच लगाएर आउँदा के हुन्थ्यो ? वा के हुन्छ ? कस्तो रोचक प्रश्न !
त्यस्तो कुन दिव्य वा जादुइ शक्ति थियो होला त्यो कल्की-श्रीपेचमा, जसको अति चहकिलो रापसँग राजनीतिक दलका नेताहरु समेत डराउँथे ?
नत्र किन मदन भण्डारीले कम्मरमा अत्याधुनिक हतियार भिरेर हिँड्ने वीरेन्द्र राजालाई श्रीपेचचाहिँ उतारेर आउने चुनौती दिए ?
सुदुर आजको लागि:
महेन्द्रनगर, नेपाल
कार्यालय फोन- +977 985-8750083
कम्पनी दर्ता नम्बर- 225844/076/077
ब्यबस्थापक करन सिङ्ह पाल
बजार ब्यबस्थापक रिया चौधरी
सम्वाददाता राजेंद्र साउंद,सुमन भट्ट
सहायक सम्पादक अपडेट हुँदै छ
विश्व अपडेट हुँदै छ
खेलकुद अपडेट हुँदै छ
ग्राफिक डिजाईनर अपडेट हुँदै छ
कानूनी सल्लाहकार अपडेट हुँदै छ
मार्केटिङ गणेश रावत
प्रतिक्रिया दिनुहोस